श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे भारत भ्रमणमा 

बिहीबार, साउन ४, २०८०

काठमाडौँ– श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे भारतको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली आइपुगेका छन् । 

भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले विक्रमासिङ्घेलाई विमानस्थलमा स्वागत गरेका थिए ।

श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा कलाकारले गुजराती नृत्यको एक रूप (गरबा) प्रदर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति विक्रमासिङ्घे भारतको औपचारिक भ्रमणमा आएका हुन् । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विक्रमासिङ्घेको भ्रमणले भारत र श्रीलङ्काबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउने बताएका छन् ।

विक्रमासिङ्घेले पदभार ग्रहण गरेयता उनको यो पहिलो भारत भ्रमण हो । अरिन्दम बागचीले ट्वीटरमा लेखेका छन्, “श्रीलङ्काका राष्ट्रपतिको कार्यभार सम्हालेपछि विक्रमासिङ्घेले पहिलो पटक भारत भ्रमणमा आउनुभएकोमा हार्दिक स्वागत छ । यो भ्रमणले दुई मुलुकबीचको बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउनेछ ।”

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति विक्रमासिङ्घेले आफ्ना भारतीय समकक्षी  द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य भारतीय विशिष्ट व्यक्तिसँग पारस्परिक हितका विविध विषयमा छलफल गर्नेछन् ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “श्रीलङ्का भारतको छिमेक प्रथम नीति र भिजन सागरमा महत्वपूर्ण साझेदार हो । यो भ्रमणले दुई देशबीचको लामो समयदेखिको मित्रतालाई अझ प्रगाढ बनाउनुका साथै सबै क्षेत्रमा कनेक्टिभिटी र पारस्पारिक लाभकारी सहयोगका लागि मार्गको खोजी गर्नेछ ।”

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार