दलितमाथि भएका दुर्व्यवहारप्रति ध्यानाकर्षण, शान्ति समाजको प्रदर्शन

बुधबार, असार २७, २०८०

काठमाडौँ– देशका विभिन्न भागमा दलितमाथि भएका दुर्व्यवहार र अत्याचारका घटनाप्रति मानव अधिकार तथा शान्ति समाज काठमाडौँले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ ।

देशका विभिन्न भागमा दलितमाथि भएको दुर्व्यवहार र अत्याचारका घटनाका सन्दर्भमा चासो व्यक्त गर्दै शान्ति समाजको काठमाडौँ शाखाले जातीय छुवाछूतविरुद्ध सामाजिक अभियान चलाएको हो ।

शान्ति समाज काठमाडौँ शाखाले शान्ति स्तूप बौद्धनाथ अगाडि एक प्रदर्शनीको आयोजना गरेको थियो ।

‘जातीय भेदभाव अन्त्य गरौँः मानव अधिकारको सम्मान गरौँ, दलित अधिकारः मानव अधिकार, दलित विभेदको अन्त्यः मानव अधिकारको गन्तव्य, सबैका लागि सबै मानव अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्डसहित ६० जनाभन्दा ज्यादा अधिकारकर्मीले प्रदर्शन गरेका थिए ।

कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौँलागाईं, सामाजिक अभियानकर्मी श्रीराम चालिसे लगायतले दलित अधिकारको सम्मान गर्न आग्रह गरेका थिए । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्