सीताको पार्थिव शरीरमा विशिष्ट व्यक्ति तथा नेताहरूद्वारा श्रद्धाञ्जलि अर्पण

बुधबार, असार २७, २०८०

काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जलिअर्पण गरेका छन् ।
    
पार्टी कार्यालय पेरिसडाँडामा पुगेर उनीहरुले स्वर्गीय सीताको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनको उपचारका क्रममा आज विहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
    
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पनि पेरिसडाँडा पुगी श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । साथै नेकपा (एमाले)का उपाध्यक्षहरु सुवास नेम्वाङ्ग र विष्णुप्रसाद पौडेल, सचिव योगेश भट्टराईले पनि श्रद्धाञ्जलि अर्पण गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् भने नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि पेरिसडाँडा पुगेर श्रद्धाञ्जलि व्यक्त गरे ।  

त्यसैगरी, नेकपा (माले)का महासचिव सिपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सोही पार्टीका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा तथा नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष अध्यक्ष मोहन बैद्यले पनि श्रद्धाञ्जलि अर्पण गरेका छन् । हाल विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु श्रद्धाञ्जली अर्पणका लागि पेरिसडाँडा पुग्ने क्रम जारी छ 

स्वर्गीय सीता माओवादी केन्द्रका सल्लाहकार समेत थिइन् । उनी लामो समयदेखि अस्वस्थ थिइन् ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्