ललिता निवास प्रकरण

ललिता निवास प्रकरण : पूर्व सुपररिटेन्डेन्ट इन्जिनियरसहित २ जना पक्राउ

आज पक्राउ परेका मध्ये योगराज, रुद्रप्रसाद र नारायण पनि पूर्व कर्मचारी हुन् भने बालकृष्ण इन्जिनियर हुन्
मंगलबार, असार २६, २०८०

काठमाडौँ– ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरको छ ।

सीआईबीले मंगलबार साँझ पूर्व सुपररिटेन्डेन्ट इन्जिनियर बालकृष्ण श्रेष्ठ, रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । सीआईबीले आजै डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको छ । 

सीआईबीका अनुसार आज पक्राउ परेका मध्ये योगराज, रुद्रप्रसाद र नारायण पनि पूर्व कर्मचारी हुन् भने बालकृष्ण इन्जिनियर हुन् । उनले बालुवाटारको सरकारी निवास विस्तार गर्ने फाइलमा राय दिन संलग्न रहको सिआइबीको आरोप छ । त्यतिबेला उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा सिनियर डिभिजन इन्जिनियर थिए ।

आज यसै प्रकरणमा पक्राउ परेका १४ जनालाई जिल्ला अदालत काठमाडौँले थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद दिएको छ । 

यस प्रकरणमा सीआईबीले अहिलेसम्म १६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन, तत्कालीन वडासचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जन, तत्कालीन मालपोत कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीसमेत रहेका छन् । 

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सीआईबीले कीर्तेसहित संगठित अपराधको कसुरमा ललिता निवासको सरकारी जग्गा व्यक्तिगत स्वामित्वमा ल्याएर किनबेच गरेको भन्दै अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्