ललिता निवास प्रकण

ललिता निवास प्रकण : तत्कालीन सर्वेक्षक र समरजङ्ग कम्पनीका प्रमुख पक्राउ

आइतबार, असार २४, २०८०

काठमाडौँ– बालुवाटारको ललिता निवास जग्गा प्रकणमा थप २ जना पक्राउ परेका छन् ।

ललिता निवास जग्गा प्रकरण संलग्नता पाइएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले थप २ जनालाई पक्राउ गरेको हो ।

सिआइबीले दिएको जानकारी अनुसार ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे पक्राउ परेका छन् ।

अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए । 

घिमिरेमाथि सरकारी जग्गा संरक्षणमा पहल नगरेको आरोप लगाइएको छ । यस्तै अर्याल भने त्यसबेला जग्गा नापजाँचमा खटिएको जनाइएको छ । 

उनीहरुलाई यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । उक्त प्रकरणमा सिआइवीले यसअघि नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।  

कीर्ते तथा सङ्गठित रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् । 

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । 

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्यूरोले पुनः अनुसन्धान थालेको हो ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्