लम्पी स्किनले रोपाइँ प्रभावित भएपछि दोर्दीका किसानलाई हाते ट्याक्टर 

शनिबार, असार २३, २०८०

लमजुङ– जिल्लाको दोर्दी गाउँपालिकाले किसानहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पालिकाले ७५ प्रतिशत अनुदानमा पालिका भित्रका ६० जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो ।

धान रोपाइँको समयमा लम्पि स्किन रोगका कारण गोरु मरेपछि मारमा परेका १३ किसान र यस अघि नै हाते ट्याट्क्टर माग आवेदन पेश गरेका ४७ जनालाई हातेट्याक्तर वितरण गरिएको हो ।  दोर्दी गाउँपालिका कृषि शाखाका कृषि प्रसार अधिकृति नरहरि घिमिरेका अनुसार लम्पी स्किन रोगले गोरु मरेपछि रोपाइनै प्रभावित भएका १३ जना किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमार्फत् हाते ट्याक्टर वितरण गरिएको हो । सो कृषि शाखाको चालु वर्षको कार्यक्रमअन्र्तगत ४७ जनालाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । 

No description available.

कृषकहरुलाई ६ हर्ज पावरका ५५ वटा र ७ हर्ज पावरका ५ वटा हाते ट्याक्टर वितरण गरिरेको कृषि शाखाले जनाएको छ । गाउँपालिकाले ६ हर्ज पावरको प्रति हाते ट्याक्टर ५७ हजारमा खरिद गरी पालिकाको ७५ प्रतिशत लागत र किसानहरुको २५ प्रतिशत १४ हजार रुपैयाँ पर्ने गरी उपलब्ध गराएको हो । 

यसैगरी ६८ हजार मुल्य बरावरको ७ हर्ज पावरको हाते ट्याक्टर किसानको २४ हजार २ सय ५० रुपैया पर्ने गरी उपलब्ध गराएको कृषि प्रसार अधिकृत घिमिरेले बताए । 

आफूले पालेका पशुमा रोग सक्रमणले मारमा परेका किसानलाई ट्याक्टर वितरणले केही राहत मिलेको बताउँदै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले हाते ट्याक्टरको प्रयोगले कम लागत, थोरै समयमा सहज रुपमा धेरै काम गर्न सकिने बताए । 

पछिल्लो समय किसानहरुले गोरु पाल्ने क्रम निकै कम भएको छ । केही किसानले पालेका गोरुहरु पनि लम्पी स्किन रोग संक्रमण भएपछि चिन्तित बनेका बेला पालिकाले अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएपछि ठूलो राहत मिलेको किसानहरुले बताएका छन् । दोर्दी गाउँपलिकामा मात्र लप्पी स्किन संक्रमणका कारण १५ भन्दा बढी गोरु मरेको पशु शाखाले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्