बागलुङका २ विद्यालय पहिरोको जोखिममा

बिहीबार, असार २१, २०८०

ढोरपाटन– केही दिनदेखि परेको अविरल वर्षाका कारण बागलुङमा दुई विद्यालय पहिरोको जोखिममा परेका छन् । 

    निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दागस्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिराको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ ।

    पहिरोले देउराली प्राविको भवनको जग्गा नै बगाउन थालेको छ भने थानापति आधारभूत विद्यालयको खेल मैदान बगाएको छ । अघिल्लो वर्षदेखि पहिरोको जोखिममा परेको देउराली प्रावि अहिले भवन नै बग्ने खतरा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र घर्तीमगरले जानकारी दिए । विद्यालय संरक्षणका लागि गाउँपालिका र प्रदेश सरकारलाई आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेको अध्यक्ष घर्तीमगरले बताए । 

    पहिरोले खेलमैदान बगाएसँगै विद्यालय भवन जोखिममा परेको थानापाती आधारभूत विद्यालयका प्रधानाध्यापक खिमराज घिमिरेले बताए । विद्यालय पहिराका कारण जोखिम मोलेर पठनपाठन गर्न बाध्य भएको उनको भनाइ छ । बर्खा सुरु भएपछि दिनदिनै पानी पर्न थालेको भन्दै कतिबेला विद्यालय बगाउँछ भन्ने त्रास हुने प्रधानाध्यापक घिमिरे बताउँछन् । 

    विद्यालयमा अधिकांश ससाना बालबालिका मात्रै रहेको हुँदा पहिरोबाट लड्ने खतरा बढेको उनले बताए । पहिरोले खेलमैदान बगाएपछि विद्यालय संरक्षणका लागि गाउँपालिकामा जानकारी गराएको उनको भनाइ छ । विद्यालयको मुख्य भवनको तल्लो भागको पहिरोले बगाउँदा शौचालय जानआउन समस्या भएको उनले बताए ।

    प्रधानाध्यापक घिमिरेले भने, “बर्खा लाग्यो, अहिलेसम्म यस्तो समस्या त आइपरेको थिएन, अहिले एक्कासी पहिराले मैदान भत्किएपछि माथिल्लो पट्टिको भवन पनि जोखिममा छ, यहाँ बालविकास र तल्लो कक्षामा पढ्ने विद्यार्थी हुँदा खेल्दै गएर लड्छन् कि भन्ने जोखिम बढेको छ, पहिराको तलतिरबाट ग्याविनसहितको पर्खाल नलगाएसम्म सुरक्षित हुने देखिन्न ।”

    बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पहिरोबाट विद्यालय भवन र अन्य संरचना संरक्षणका लागि पहिरो नियन्त्रण गर्ने बताए । बर्खामा हुने सम्भावित घटनालाई मध्यनजर गरी गाउँपालकाले उद्धारलगायतका बारेमा योजना बनाएको जनाउँदै विद्यालय संरक्षण गर्ने दायित्व आफूहरुको रहेको वनले बताए ।

    कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयमै बालविकास केन्द्र पनि सञ्चालनमा छ । यहाँ १७ बालबालिका अध्ययन गर्न आउने गरेका विद्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्