काठमाडौँ उपत्यकाका ५ ठाउँमा थपिए ट्राफिक पोस्ट

बिहीबार, असार २१, २०८०

काठमाडौँ– काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोस्ट थप गरिएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोस्ट थप गरिएका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौँको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोस्ट थप गरिएको छ । 

पाँच पोस्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोस्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ । हाल काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय १४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ । दरबन्दी भने एक हजार एक सय १३ जनाको रहेको प्रवक्ता भट्टले बताए ।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको सङ्ख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । हाल बागमती प्रदेशभित्र १८ लाख ३५ हजार एक सय ८१ सवारीसाधन दर्ता छन् ।
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्