हुम्लाको च्याछहरा भिरनजिकै अवरुद्ध बाटो खुलाउन गाउँपालिकाले पहल थाल्यो

बुधबार, असार २०, २०८०

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिरनजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ । चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ । 

गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार डोजरको सहयोगमा बाटो खोल्ने काम भइरहेको छ । यसका लागि नाम्खा गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेको छ । अवरुद्ध बाटो चाँडै सञ्चालनमा आउने अध्यक्ष लामाले बताए । 

यस्तै ताक्रुखोलामा काठेपुल बनाउन लागिएको लामाको भनाइ छ । त्यहाँ हिल्सा–सिमकोट सडकखण्डको मोटरेबल पुलसमेत बन्दै छ । वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले सवारी आवतजावतका लागि काठेपुल बनाउन लागिएको अध्यक्ष लामाले बताए । सो बाटो नभएर हुम्लाका अधिकांश बासिन्दा चीनको पुलाङ काउन्टी रोजगारीका लागि जाने गरेका छन् । अहिले आवतजावत रोकिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्