चेचन्या भ्रमणमा गएर रुसी खोज पत्रकारमाथि साङ्घातिक आक्रमण

बुधबार, असार २०, २०८०

मस्को- खोज पत्रकारकारिताका निम्ति ख्याति कमाएका रुसका एक जना पत्रकारमाथि  चेचन्यामा साङ्घातिक आक्रमण भएको छ । चेचन्या भ्रमणमा रहेका उनीमाथि सशस्त्र आक्रमणकारीहरूले नराम्ररी कुटपिट गरेपछि अस्पताल भर्ना हुनुपरेको मानव धिकार समूह मेमोरियलले जनाएको छ । 

    “एलेना मिलाशिनाको औंला भाँचिएको छ र उनी बेलाबेलामा बेहोस हुन्छिन् । उनको शरीरभरि चोट लागेको छ । उनका उपकरण खोसेर र तोडफोड गरिएको छ,” समूहले सामाजिक सञ्जालमा भनेको छ । मिलासिना र वकिल अलेक्जेन्डर नेमोभ एयरपोर्टबाट आफ्नो गन्तव्यतर्फ गइरहेका बेला आक्रमण भएको हो ।

    मिलाशिना काम गर्ने रूसको शीर्ष स्वतन्त्र प्रकाशन नोभाया गजेटाले घटनाको पुष्टि गर्दै  उनी र वकिल नेमोभ चेचन राजधानी ग्रोज्नीको अस्पतालमा रहेका बताएको छ । 

    नोभाया गजेटाले चेचेन शक्तिशाली रमजान कादिरोभको आलोचना गर्ने तीन जना निर्वासितकी आमा जरेमा मुसाइभाको सजायको सुनुवाइमा भाग लिन उनी ग्रोज्नी गएको जनाएको छ । 

    रुसको प्रसिद्ध समाचारपत्र नोभाया गजेटामा मिलाशिनाले चेचन्यामा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे वर्षौंदेखि समाचार एवम् टिप्पणी छाप्दै आएकी थिइन् । उनलाई चेचेन नेतृत्वबाट ज्यान मार्ने धम्की पनि आएको थियो ।
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्