अधिवक्ता–कर्मचारी विवाद

अधिवक्ता–कर्मचारी विवाद : कर्मचारी युनियन प्रवेशपछि घटनामा नयाँ मोड

‘तामाङले मुक्का प्रहार गरेपछि मात्रै लामिछानेले उनीमाथि जाइलागेको स्वयम् ती कर्मचारीले प्रहरीसँगको छलफलमा स्वीकारेको थिइन् ।’
शनिबार, असार १६, २०८०

ललितपुर– गत बुधबार ललितपुर जिल्ला अदालतमा महिला कर्मचारी र एक कानुन व्यवसायीबीच विवाद भयो । सोही विवादमा कर्मचारीले एकपक्षीय रुपमा कानुन व्यवसायीलाई दोषी देखाएर प्रहरीमा जाहेरी दिएकी दिइन् ।

जिल्ला अदालत ललितपुरका एक कर्मचारीले मुद्दाको मिसिल हेर्ने विषयमा नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीच विवाद भएको बताए । उनका अनुसार अधिवक्ता लामिछानले आफू वारेस बसेको मुद्दाको मिसिल हेर्न खोज्दा कर्मचारी तामाङले हेर्न नदिने बरु नक्कल लिएर जान भनिन् । मुद्दाको मिसिल हेर्ने विषयमा विवाद हुँदा सुरुमा अधिवक्तामाथि कर्मचारी तामाङले मुक्का प्रहार गरेको एक कर्मचारीले बताए । ती एक कर्मचारीले भने, ‘तामाङले मुक्का प्रहार गरेपछि मात्रै लामिछानेले उनीमाथि जाइलागेको स्वयम् ती कर्मचारीले प्रहरीसँगको छलफलमा स्वीकारेको थिइन् ।’

lalitpur_jilla_adalat1688220742.jpg

अधिवक्ता लामिछानेले नै एकपक्षीय रुपमा कर्मचारीमाथि मुक्का प्रहारी गरेको भनी कर्मचारीहरुले आरोप लगाउँदै आएका छन् । तर, घटनामा अधिवक्ताभन्दा पनि कर्मचारीको बढी गल्ती भएको स्वयम् अदालतका अन्य कर्मचारीहरुले बताउने गरेका छन् ।

घटनापछि अदालतमा न्यायाधीश, कर्मचारी तथा ललितपुर बारका टोलीसँगको छलफलमा समेत कर्मचारी तामाङले आवेशमा आएर घटना भएको र दुवै जनाले गरेको गल्ती कमजोरी स्वीकार गरी समाधान गर्न तयार भएको बताएकी थिइन् ।

घटनामा नयाँ मोड

तर, एकाएक घटनाले नयाँ मोड लियो । ललितपुर अदालतमा त्रिपक्षीय छलफल चलिरहेकै समयमा सर्वाेच्च अदालतका कर्मचारी युनियनको टोली पुगेका थिए । लगत्तै सर्वाेच्च अदालत कर्मचारी युनियनका टोलीसँग छलफल गर्ने भनी त्रिपक्षीय छलफल छोडेर तामाङ हिँडेकी थिइन ।  

त्रिपक्षीय छलफलमा बसेका ललितपुर बारका टोलीका एकजना पदाधिकारीका भन्छन्, ‘ उहाँ (प्रेमिका तामाङ) करिव दिउँसो १ बजे त्रिपक्षीय छलफल छोडेर सर्वाेच्च अदालत कर्मचारी युनियनका टोलीसँग छलफल गर्न जानुभएको हो ।’ उनले भने, ‘उहाँ ४ बजेसम्म बाहिर निस्किनु भएन । त्यसपछि त्रिपक्षीय छलफलमा बस्नुभएका साथीहरु अब नसकिने भयो भन्दै त्यहाँबाट निस्कियौँ ।’

सर्वाेच्च अदालत कर्मचारी युनियनका टोलीसँग छलफलपछि कर्मचारी तामाङले अधिवक्ता लामिछानेविरुद्ध प्रहरीमा जाहेरी दिइन्। लगत्तै जिल्ला प्रहरी परिसर ललितपुरले लामिछानेलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ ।अहिले प्रहरीलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले अधिवक्ता लामिछानेविरुद्ध अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

lalitpur_court31688220819.jpg

अदालत प्रशासनबाट विवाद समाधान गर्न सहयोग भएन : ललितपुर बार

ललितपुर जिल्ला अदालत ले एक विज्ञप्ति जारी गर्दै कार्यस्थलमा कर्मचारीको सुरक्षाको विषय चुनौतीपूर्ण बन्दै गएको महसुस भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको विषयमा सत्य तथ्य छानविन गरी दोषिलाई प्रचलित कानुनबमोजिम कारवाहीको दायरामा ल्याउन अदालत प्रशासन प्रतिवद्ध रहेको छ ।’ 

यता, कर्मचारी र अधिवक्ताबीचको विवादलाई समाधान गर्न ललितपुर बार, उच्च बार पाटन तथा बार केन्द्रीय समिति समेत लागिपरेका छन् । तर, ललितपुर अदालतका एक नम्बरका न्यायाधीश तथा स्रेस्तेदारबाट विवाद समाधान गर्न सहयोग नभएको ललितपुर बारको गुनासो छ । 

lalitpur_court11688220767.jpg

सिसिटिभि फुटेज नै गायब !  
घटनाको विषयमा सत्य तथ्य छानविन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको अदालत प्रशासनले हालसम्म सिसिटिभि फुटेज सार्वजनिक गर्न मानेको छैन् । सबै कानुन व्यवसायीले सबै वास्तविकता बाहिर आउने भन्दै सिसिटिभि फुटेज सार्वजनिक गर्न माग गरिरहेका छन् । त्रिपक्षीय छलफलमा समेत अधिवक्ता लामिछानेले सिसिटिभि फुटेज हेरेर छलफल गर्न आग्रह गरेका थिए ।

ललितपुर बारले एक विज्ञप्ति जारी गर्दै घटनाको मुख्य प्रमाणको रुपमा रहेको सिसिटिभि फुटेजसमेत अदालत प्रशासनले सार्वजनिक गर्न नमानेको बताएको छ । 

laltipur bar1688221042.jpg

कर्मचारीविरुद्ध प्रहरीमा जाहेरी दिने तयारी

घटनाको सत्यतथ्य बाहिर नल्याएको, अदालतको सिसिटिभि फुटेजसमेत लुकाइएको भन्दै कानुन व्यवसायीहरुले अधिवक्तामाथि मुक्का प्रहार गर्ने कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिने बताएका छन् । लामिछाने निकट एकजना अधिवक्ताले भने, ‘लामिछानेमाथि मुक्का प्रहार भएको होइन, यो समग्र पेशामाथिकै मुक्का हो । हामी भोलि आइतबार लामिछानेमाथि मुक्का प्रहार गर्ने कर्मचारीविरुद्ध प्रहरीमा जाहेरी दिँदैछौँ ।’

कर्मचारी तामाङ काठमाडौं जिल्ला अदालतबाट सरुवा भई ललितपुर गएकी हुन् । उनका व्यवहार रुखो रहेको उनकै सहकर्मी बताउँछन् । उनी बिना कुनै कारण कानुन व्यवसायीप्रति आक्रोशित हुने, रुखो व्यवहार गर्ने पहिलेदेखिकै रहेको पाइएको छ । दुई वर्ष अघि काठमाडौं जिल्ला अदालतमा हुँदा एक जना कानुन व्यवसायीलाई बिना कुनै कारण जुत्ता हान्न खोजेकी थिइन् ।

कर्मचारी युनियनले आइतबारदेखि सेवा प्रवाह रोक्ने

छलफलबाट विवाद समाधान हुन नसकेपछि अधिवक्तामाथि प्रहरीमा जाहेरी परेर पक्राउ भैसकेका छन् । साथै, ललितपुर जिल्ला अदालतमा समेत अदालतको अवहेलना मुद्दा दायर भइसकेको छ । तर, अदालतका कर्मचारी युनियनले आइतबारदेखि सेवा प्रवाह रोक्ने बताएका छन् । अदालतको कर्मचारीको सुरक्षाको प्रत्याभुति गर्न सर्वोच्च अदालतलाई ध्यानार्कषण गराउँदै उनीहरुले आइतबार १० बजेदेखि साढे १ बजेसम्म देशभरका सम्पूर्ण अदालत काम कारवाही बन्द गर्न आह्वान समेत गरेका छन् ।

lalitpur_court21688220787.jpg

प्रतिक्रिया दिनुहोस्