राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरेद्वारा लुम्बिनी भ्रमण

बिहीबार, असार १४, २०८०

लुम्बिनी– संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले आज बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । 

लुम्बिनीमा उपमहासचिव ल्याक्रोइक्सलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी)सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए । त्यस अवसरमा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

राष्ट्रसङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिवले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुसी लागेको र लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा त्यसलाई निरन्तरता दिने बताएको विकास कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

उपमहासचिव ल्याक्रोइक्सले मायादेवी मन्दिर, शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स र भियतनाम गुम्बाको भ्रमण गरेका थिए । नेपालको चार दिवसीय भ्रमणका शिलशिलामा उपमहासचिव ल्याक्रोइक्स आज बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन् ।

भ्रमणमा नेपाली सेनाको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीसहित नेपाली सेनाका रथीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्