ललितानिवास प्रकरण

ललिता निवास प्रकरण : पक्राउ परेका ७ मध्ये ३ जना रिहा

मंगलबार, असार १२, २०८०

काठमाडौँ–  ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ७ जनामध्ये ३ जना हिरासतमुक्त भएका छन् ।

सरकारी कागजात तथा लिखत कीर्ते गरेको अभियोगमा आज पक्राउ परेका ३ जनालाई यसै प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि उनीहरु हिरासतमुक्त भएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार हिरासतमुक्त हुनेमा मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको जानकारी अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि तीन आरोपीलाई छाडिएको हो ।

प्रहरीका अनुसार  सर्वोच्चले उनीहरुलाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा नै आदेश दिएको थियो ।

प्रहरीले आजै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भूपेन्द्रमणि केसीलाई पनि काठमाडौँबाट पक्राउ गरेको थियो । अख्तियारले गत ०७६ माघ २२ मा नै उनीहरुसहित  १७५ जनाविरुद्ध भ्रष्टाचारको कसूरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । हाल विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

गृह मन्त्रालयले उनीहरुविरुद्ध ठगी र कीर्तेमा अनुसन्धान गर्न भन्दै पत्र पठाएपछि सीआईबीले लामो अनुसन्धानपछि आजै ७ आरोपी पक्राउ परेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्