साफ च्याम्पियनसिपमा नेपालको सान्त्वना जित, पाकिस्तानलाई हरायो

मंगलबार, असार १२, २०८०

काठमाडौँ– भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानमाथि सान्त्वना जित हासिल गरेको छ ।

बैंग्लोरस्थित श्री कान्तिरवा रंगशालामा भर्खरै सम्पन्न खेलमा पाकिस्तानलाई १–० गोल अन्तरले हराउँदै नेपालले सान्त्वना जित हात पारेको हो ।

दोस्रो हाफको अन्त्यतिर नेपालले अग्रता लिएको थियो । आशिष चौधरीले ७९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । अन्ततः सोही गोल निर्णायक बन्यो ।

समूह ‘ए’मा रहेको नेपाल कुवेत र आयोजक भारतसँग पराजित हुँदै एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो । पाकिस्तानको अवस्था पनि उस्तै थियो ।

यस समूहबाट भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् ।

नेपालले पाकिस्तानलाई हराएर ३ अंकका साथ तेस्रो स्थानमा पक्का गरेको छ । तर, यसको कुनै अर्थ भने छैन । पाकिस्तान अंकविहीन रहँदै तालिकाको पुछारमा छ ।  

भारत र कुवेतको समान ५ अंक छ । आजै हुने भारत र कुवेतबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्