पोखरा महानगरकाे स्रोत खुम्चिँदा घट्यो बजेट

सोमबार, असार ११, २०८०

गण्डकी- पोखरा महानगरपालिकाले चालु आवको तुलनामा आगामी आव ०८०/८१ का लागि रु एक अर्बभन्दा कमको बजेट प्रस्ताव गरेको छ । 

चालु आवमा रु आठ अर्ब ९९ करोड दुई लाख २९ हजारको बजेट ल्याइएकामा आगामी आवका लागि रु सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट सार्वजनिक गरिएको हो ।

सङ्घ सरकारले दिने अनुदान र आन्तरिक आय खुम्चिँदा बजेटको आकार घटेको महानगरप्रमुख धनराज आचार्यले बताए । चालु आवको बजेटमध्ये आन्तरिक स्रोतबाट रु चार अर्ब ३० करोड १५ लाख ५२ हजार व्यहोर्ने अनुमान गरिएकामा हालसम्म रु एक अर्ब १९ करोड ७१ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ ।  

घरजग्गा करबाट रु ८५ करोड उठाउने लक्ष्य लिइएकामा हालसम्म जम्मा रु ४३ करोड सङ्कलन भएको छ । अर्थतन्त्रमा देखिएको मन्दी, चुनावी वर्ष, करको दर घट्नु जस्ता कारणले आन्तरिक आय खुम्चिएको महानगरप्रमुख आचार्यले बताए । उनका अनुसार प्रदेश र सङ्घ सरकारले दिने अनुदान पनि घटेर आएको छ ।

आगामी आवको बजेटमा पनि आन्तरिक आयतर्फ रु दुई अर्ब २७ करोड ८७ लाखको अनुमान गरिएको छ । स्रोतमा आधारित रहेर बजेट ल्याइएकाले कार्यक्रम तथा बजेटको कार्यान्वयनमा समस्या नआउने महानगरप्रमुख आचार्यले उल्लेख गरे ।

“महानगरको नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको छ, यसको कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ”, उनले भने, “असान्दर्भिक देखिएका केही कार्यक्रम हटाइएको छ, राम्रा कार्यक्रमको निरन्तरता छ, केही नयाँ आएका छन् ।”

महानगरको तथ्याङ्कअनुसार चालु आवको बजेट खर्च पनि न्यून देखिएको छ । यही असार ८ गतेसम्म जम्मा रु तीन अर्ब ९५ करोड ५५ लाख ८४ हजार खर्च भएको हो । जुन कूल बजेटको ४३ दशमलव ०५ प्रतिशत मात्र प्रगति हो । असार मसान्तसम्म ७० प्रतिशत खर्च हुने महानगरको अनुमान छ ।

महानगरले आगामी आवको बजेटमा भौतिक पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो । आइतबार सार्वजनिक बजेटमा आर्थिक विकासतर्फ रु १० करोड, सामाजिक विकासमा रु छ करोड ५० लाख र नगर कार्यपालिकाको कार्यालयतर्फ रु ८१ करोड २२ लाख विनियोजन गरिएको छ ।

वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख, विभिन्न कोषहरूमा रु १४ करोड, सङ्घीय सःशर्त अनुदानतर्फ रु दुई अर्ब २३ करोड ६२ लाख, प्रदेश ससर्त अनुदानतर्फ रु ८० लाख र सहरी विकास आयोजनामा रु आठ करोड ४० लाख ९१ हजार विनियोजन गरेको छ । 

स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट रु दुई अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट रु १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट रु दुई अर्ब २७ करोड ८७ लाख खर्च हुने अनुमान गरिएको छ ।

सङ्घीय राजस्व बाँडफाँटबाट रु ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट रु आठ करोड २५ लाख, स्थानीय राजस्व बाँडफाँटबाट रु एक अर्ब एक करोड ७५ लाख स्रोत व्यवस्थापन गरिने भएको छ । 

सङ्घीय सरकार सहरी विकास आयोजनाबाट रु आठ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुन जाने रु ४५ करोड ६८ लाख ६५ हजार चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट व्यहोरिने जनाइएको छ । 

बजेटमा पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन, गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता र व्यावसायिक कृषि प्रणालीमा जोड दिइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्