गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु

मंगलबार, असार ५, २०८०

गोरखा– गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।

सोमबार घरबाट तल खहरे जान भनेर निस्कनुभएका सार्की घर नफर्किएपछि परिवारसहित आफन्तले खोजी गर्ने क्रममा आज अबेर सिरानचोक गाउँपालिका–७, स्थित र्भोले खोलामाथिको ठूलो पहिरामा परेको अवस्थामा उनको शव भेटिएको हो ।

“शव भेटिएको स्थान ठूलो भेल पर्ने ठाउँ रहेछ, मृतकको शवको प्रकृति हेर्दा पहिरामा परेको देखिन्छ”, उनले भने, “हिँड्दा बाटोबाट खसेर पहिरामा परेको हो वा भेलले बगाएर पहिरामा पुर्‍याएको हो भन्ने बारेमा यकिन हुन बाँकी छ।”

घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीको टोली अहिले घटनास्थलमा पुगिसकेको डिएसपी लामिछानेले जानकारी दिए । सार्की गाउँमा कटुवाल पेसा गर्दै आएका थिए । उनी घरबाट निस्किएलगत्तै सोही समयमा त्यस क्षेत्रमा ठूलो हावाहुरीसहित अत्यधिक वर्षा भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्