बझाङ दुर्घटना अपडेट : कानुनमन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

मंगलबार, असार ५, २०८०

बझाङ– बझाङमा आज जिप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र भाउजुको मृत्यु भएको छ ।

श्रीमती अमृता सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जिप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा मन्त्री सिंह गम्भीर घाइते भएका छन् । यस्तै, चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारी पनि घाइते भएका छन् । मन्त्री सिंहसहित घाइते तीनै जनाको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ ।

थप उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लगिएको हो । जिप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्