बझाङमा जिप दुर्घटना : सुदूरपश्चिमका मन्त्रीसहित ५ जना घाइते 

मंगलबार, असार ५, २०८०

बझाङ– बझाङमा आज जिप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँच जना घाइते भएका छन् । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका छन् । 

 प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जिप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता सिंह, चालक धर्मराज जोशी, प्रहरी सहायक हवल्दार दीपक भण्डारी र जयदेवी सिंह घाइते भएका छन् । मन्त्री सिंहसहित घाइते सबैको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ । जिप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्