इन्डोनेसियामाथि मेसीबिनाको अर्जेन्टिनाको सहज जित

मंगलबार, असार ५, २०८०

काठमाडौँ– विश्वविजेता अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली राष्ट्र इन्डोनेसियामाथि सहज जित निकालेको छ ।

सोमबार साँझ भएको खेलमा अर्जेन्टिनाले घरेलु टोली इन्डोनेसियालाई २–० को सहज जित निकालेको हो ।

इन्डोनेसियास्थित जेलोरा बुङ कार्नो रंगशालामा भएको खेलमा ३८ औं मिनेटमा लियान्द्रो परेडेसको गोलमार्फत भ्रमणकारी टोलीले १–० को अग्रता लिएको थियो ।

त्यसपछि दोस्रो हाफको ५५ औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल थप्दा अर्जेन्टिनाले घरेलु टोलीलाई पराजित गरेको हो ।

अर्जेन्टिना पछिल्लो फिफा वरीयतामा पहिलो स्थानमा रहँदा इन्डोनेसिया भने १४९ औं स्थानमा रहेको छ ।

अर्जेन्टिना कप्तान लियोनल मेसी, उपकप्तान एंगेल डी मारिया र निकोलास ओटामेन्डीबिना नै मैदानमा उत्रिएको थियो ।

पाँच दिनअघि चीनमा अष्ट्रेलियामाथि जित निकालेपछि मुख्य प्रशिक्षक लियोनल स्कालोनीले यी तीन सिनियर खेलाडीलाई बिदा दिएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्