ब्लिन्केनसँगको वार्ता उपलब्धीमुलक : चिनियाँ राष्ट्रपति सी

सोमबार, असार ४, २०८०

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग बेइजिङमा सोमबार भएको वार्तामा अमेरिका र चीनले थुप्रै विषयमा ‘प्रगति’ गरेको बताएका छन् । 

शक्तिशाली चिनियाँ राष्ट्रपतिसीले स्थानीय समयअनुसार अपराह्न ४ः३० बजेपछि राजधानीको ग्रेट हल अफ द पिपुलमा ब्लिन्केनसँग भेटवार्ता गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम र अमेरिकी अधिकारीले जनाएका छन् ।

“चिनियाँ पक्षले हाम्रो स्थिति स्पष्ट पारिसकेको छ र राष्ट्रपति बाइडेन र हामी (चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेन_ले बालीमा गरेको साझा समझदारीलाई पालना गर्न दुवै पक्ष सहमत हुनुपर्छ,” सीले शीर्ष अमेरिकी कूटनीतिज्ञसँग भने । 

“दुई पक्षले प्रगति पनि गरेका छन् र केही खास विषयमा सहमति पनि गरेका छन्”, सीले थपे, “मलाई आशा छ, विदेशमन्त्री ब्लिन्केनले यो भ्रमणमार्फत चीन–अमेरिका सम्बन्धलाई स्थिर बनाउन सकारात्मक योगदान दिन सक्नुहुनेछ ।”

ब्लिन्केनले अन्य उच्च चिनियाँ अधिकारीसँग दुई दिनसम्म १० घण्टाभन्दा बढी छलफल गरेपछि राष्ट्रपति सीसँग करिब आधा घण्टा लामो वार्ता गरेका हुन् । 

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएपछि करिब पाँच वर्षयता भएको बहालवाला उच्च अमेरिकी अधिकारीको चीन भ्रमणलाई विश्व समुदायले विशेष चासोले हेरेको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्