नक्कली भुटानी शरणार्थी प्रकरण :

रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, २ जना धरौटीमा रिहा

शुक्रबार, असार १, २०८०

काठमाडौँ- जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई  पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जन र टंक गुरुङ गरी दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ ।

महर्जनसँग ५ लाख र गुरुङसँग १० लाख रुपैयाँ धरौटी माग गरी रिहा गर्ने आचदेश दिइएको हो । 

बाँकी १६ जना भने पुर्पक्षमा कारागार चलान भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए ।

आज अदादलतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले जवाफी बहस सकेको थियो । उनीहरुले अभियुक्तका वकिलहरुले उठाएको कानुनी प्रश्नको जवाफ दिएका थिए ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश न्यौपानेको इजलासमा आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यय घिमिरे, जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जवाफी बहस गरेका थिए । यस्तै, जाहेरी कर्ताका तर्फबाट पनि दुईजना वकिलले जवाफी बहस गरेकोे सहायक जिल्ला न्यायाधिवक्ता दधिराम बरालले जानकारी दिए ।

उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेदेखि थुनछेक बहस सुरु भएको हो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरुले बहस गरेका थिए ।  आज त्यसको जवाफी बहसपछि आदेश आएको हो ।

उक्त प्रकरणमा प्रहरीले  पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

रायमाझी, खाणलगायतलाई सुन्धारास्थित केन्द्रीय कार्यालयमा राखिने भएको छ ।  

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो । उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो उनीहरुलाई कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको थियो । उक्त घटनामा अझै १२ जना फरार छन् । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्