दाङमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना यात्रु गम्भीर घाइते

शुक्रबार, असार १, २०८०

दाङ– दाङको तुलसीपुरबाट रोल्पाको गङ्गादेव गाउँपालिकाको  ओततर्फ जाँदै गरेको रा१ज ५५६ नम्बरको यात्रुबाहक जिप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ । साथै सो दुर्घटनामा परेर ६ जना यात्रु गम्भीर घाइते भएका छन् । 

मृत्यु हुने चालकमा गङ्गादेव–१ निवासी ३२ वर्षीय विष्णु पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जीपमा १० यात्रु सवार थिए । अन्य यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनामध्ये चारलाई बाँकेको कोहलपुर अस्पतालमा लगिएको छ । अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

आज बिहान ११ः३० बजेतिर सो जिप सडकबाट ६० मिटर तल खसेको थियो । दुर्घटनालगत्तै उद्धारका लागि प्रहरी र स्थानीय पुगेका थिए । गाडी तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्