वन अतिक्रमण गरी बनाएका घर भत्काइए

बुधबार, जेठ ३१, २०८०

बैतडी– बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ । 

मेलौली नगरपालिकाका दुई सामुदायिक वन अतिक्रमण गरेर बनाइएका २७ घर भत्काइएको हो । 

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार मेलौली–७ चापछाड सामुदायिक वन र वडा नं ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका घर डोजर प्रयोग गरी भत्काइएको हो । 

वन कार्यालयले यसअघि पटक पटक ती संरचना हटाउन  सूचना जारी गर्दैआएको थियो । प्रमुख कँडेलले भने, “सूचनाको अवज्ञा गरेपछि अतिक्रमण गरी बनाएका घर भत्काएका हौँ ।” 

जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय,  मेलौली नगरपालिका र सुरक्षाकर्मीको टोलीले अवैध संरचना हटाएको हो । स्थानीयले वन अतिक्रमण गरी किराना पसल, हार्डवेयर पसल र मिलसमेत सञ्चालन गरेका थिए । 

जिल्लाका अन्य स्थानमा पनि सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइने डिभिजन वन कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्