सेयर बजारमा उच्च उत्साह, परिसुचक ४० अंकले बढ्यो, साढे ३ अर्बको कारोबार

आइतबार, जेठ २८, २०८०

काठमाडौँ– लामो समयपछि सेयर बजारमा उच्च उत्साह देखिएको छ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक तथा कारोबार रकममा उच्च बृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज सेयर बजार मापक नेप्से परिसुचक २ प्रतिशतले बढेको छ । आज परिसुचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सुचिकृतमध्ये २१२ कम्पनीको सेयर मूल्य बढेका छन् भने ६ वटा कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । 

आज ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँमा ९५ लाख २८ हजार कित्ता सेयर खरिद विक्री भए ।

आज फाइनान्स र इन्भेष्टमेन्ट समुहका लगानीकर्ताको सम्पत्ति ५ प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै, विकास बैंकका लगानीकर्ताको सम्पत्ति पनि करिब ५ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार बैंकिङ समुहको सूचक ०.७४ प्रतिशतले, विकास बैंक समुहको सूचक ४.६६ प्रतिशतले, फाइनान्स समुहको सूचक ५.७२ प्रतिशतले, होटल तथा पर्यटन समुहको सूचक १.२७ प्रतिशतले, हाइड्रोपावर समुहको सूचक २.२७ प्रतिशतले र इन्भेष्टमेन्ट समुहको सूचक ५.११ प्रतिशतले बढेका छन् ।

यस्तै, जीवन बीमा समुहको सूचक १.८९ प्रतिशतले, माइक्रोफाइनान्स समुहको सूचक २.३२ प्रतिशतले, म्यानुफ्याक्चरिङ तथा प्रोसेसिङ समुहको सूचक ३.५३ प्रतिशतले, म्युचुअल फण्ड समुहको सूचक ०.४२ प्रतिशतले, निर्जीवन बीमा समुहको सूचक १.६१ प्रतिशतले, अन्य समुहको सूचक २ प्रतिशतले र व्यापार समुहको सूचक ३.८८ प्रतिशतले बढेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर खरिद विक्रीमा लाग्ने ५ वा ७.५ प्रतिशतको पुँजीगत लाभकर नै अन्तिम कर हो भनेर सार्वजनिक अभिव्यक्ति दिएयता सेयर बजारमा निरन्तर चमक देखिदै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्