Nic Ad Nic Ad
Nic Ad Nic Ad

लमजुङका १० वटा सडकलाई १० करोड ९२ लाख बजेट 

शुक्रबार, जेठ २६, २०८०

लमजुङ– आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट लमजुङमा १० वटा सडकले बजेट पाउने भएका छन् । जिल्लाका विभिन्न स्थानिय तहहरुका सडक स्तरोन्नतिका लागि समपुरक एवं विशेष अनुदानअन्तर्गत १० वटा सडकका लागि बजेट विनियोजन भएको हो ।

सडक योजनाअन्तर्गत बेसीसहर, दोर्दी र दूधपोखरीका दुईवटा सडक परेका छन् । सोबाहेक मध्यनेपाल, राइनास, सुन्दरबजार र मस्र्याङ्दीका एक–एकवटा सडक परेका छन् । जिल्लाको क्होलासोँथार गाउँपालिकाको लागि भने एउटै सडकका लागि पनि बजेट विनियोजन भएको छैन ।  

सडक स्तरोन्नति योजनाअन्तर्गत बेसीसहरस्थित धुरपुरे–दुईथोक–विम्दा–वाख्रेजगत सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा एक करोड २५ लाख रुपैयाँ आउने भएको छ । सो सडक बहुवर्षीय योजनाअन्तर्गत १० करोड रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी बेसीसहरकै उदिपुर–नयाँगाँउ सडक स्तरोन्नतिका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । सो सडक पनि बहुवर्षीय योजनाअन्तर्गत आठ करोड ७२ लाख रुपैयाँ विनियोजन भएको सडक हो ।

आगामी आर्थिक वर्षमा मध्यनेपाल नगरपालिकाअन्तर्गत भोर्लेटार, वांग्रे, नेटा मालिका मन्दिर सडकका लागि ५० लाख रुपैया विनियोजन भएको छ । सो सडक पनि बहुवर्षीय योजनाअन्तर्गत पाँच करोड रुपैयाँ विनियोजन भएको सडक हो । 

आगामी आर्थिक वर्षमा राइनास नगरपालिकाअन्तर्गत वगरगाँऊ–टुँडावगर–सडक र उपल्लोफाँट–ठुलोबगैंचा – पाडेवेशी – जुडिखेत सडकका लागि ८० लाख रुपैयाँ विनियोजन भएको छ । बहुवर्षीय योजनामा रहेको सो सडकका लागि १० करोड विनियोजन भएको छ । 

त्यसैगरी सुन्दरबजार नगरपालिकाअन्तर्गत भारती सदन लिंगेडाँडाहुँदै रामदी पेट्रोल पम्प मोटर बाटो स्तरोन्नतिका लागि पनि ८० लाख रुपैयाँ विनियोजन भएको छ । 

दूधपोखरी गाउँपालिकाअन्तर्गत लामागाँउ–जोर्ने–सामघडेरी सडक स्तरोन्नतिका लागि एक करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ । बहुवर्षीय योजनाअन्तर्गत सो सडकका लागि नौ करोड रुपैयाँ विनियोजन भएको थियो । दूधपोखरीकै प्यारजुंङ्ग–पात्ले सडक स्तरोन्नतिका लागि पनि एक करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ । बहुवर्षीय योजनामा रहेको सो सडकका लागि पनि नौ करोड बजेट विनियोजन भएको छ । 

यस्तै मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत खुदी–सिउरुङ–स्यांगे सडक स्तरोन्नतिका लागि भने एक करोड ५२ लाख रुपैयाँ विनियोजन भएको छ । 

त्यसैगरी दोर्दी गाउँपालिकाअन्तर्गत नौथर–शेरा–तांजे सडक स्तरोन्नतिका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । दोर्दी अन्तर्गतकै ठाँटी–पिपल भञ्ज्याङ्ग–सल्लाबाट मोटरवाटो निर्माणका लागि पनि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्