राष्ट्रियसभा बैठक

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य हुनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

बिहीबार, जेठ २५, २०८०

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गरेका थिए ।

जवाफमा अध्यक्ष तिमिल्सिनाले सम्बन्धित मन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका अधिकृत बैठकमा अनिवार्यरुपमा नोट गर्न पनि निर्देशन दिए । 

‘आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल एकैपटक दुबै सदनमा चल्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुबैतिर एकै मन्त्रीलाई खोज्ने कुरा व्यावहारिक हुँदैन । मन्त्रीको उपस्थिति नभए बैठक नचल्ने विगतको परम्परा पनि हो । त्यसैले म सरकार र अर्थमन्त्रालय र अर्थमन्त्रीको  ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष तिमिल्सिनाले भने । 

बैठकमा बोलेको विषय नोट नगरी कसरी जवाफ दिनसकिन्छ भन्दै अध्यक्ष तिमिल्सिनाले अनिवार्य रुपमा बसेर सबै रिपोर्ट टिपोट गर्ने व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण गराए । 

सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रियसभाको नियमावलीमा कुनै विषयमा छलफल चलिरहेको समयमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रीको उपस्थितिमा मात्रै बैठक सञ्चालन गर्न माग गरे । उनले बुधबारको बैठकमा पनि आफूले यस विषयमा ध्यानाकर्षण गराएको र सत्तापक्षका सांसदले पनि यो विषयलाई उठाएको स्मरण गराए ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्