मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री

सोमबार, जेठ २२, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताएका छन् ।

काठमाडौँ विश्वविद्यालय सभाको ९७औँ बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले भने, ‘हामी सबैले मेहनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउनेतिर जानुपर्दछ ।’

उनले काठमाडौँ विश्वविद्यालयले स्वदेशमै रोजगारी सिर्जना गर्न खेलेको भूमिका महत्वपूर्ण भएको बताए । ‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौँ । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषय पछि परे ।’

प्रधानमन्त्रीले जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने काम भएको उल्लेख गरे । त्यस्तो अवस्थामा अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण बन्ने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, ‘विभिन्न देशको अनुभव हेर्दा देख्न थाहा पाउन सक्छौँ । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।’

सो अवसरमा काठमाडौँ विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयको शैक्षिक कार्यक्रम र आगामी कार्यभारका विषयमा प्रस्तुति दिएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्