दमकमा ‘लम्पी स्किन’ रोगविरुद्ध निःशुल्क भ्याक्सिन लगाउन सुरु

आइतबार, जेठ २१, २०८०

झापा– दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो । 

नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि १० लाख रुपैयाँ बराबरको भ्याक्सिन खरिद गरेर निःशुल्क लगाउन थालेको बताए । 

“विगत तीन वर्षअघि देखा परेको रोग अहिले महामारीकै रुपमा फैलियो”, उनले भने, “रोग नियन्त्रण गर्ने एक मात्र माध्यम भ्याक्सिन हो । बजेटले भ्याएसम्म निःशुल्क लगाई दिन्छौँ ।” उनले टोल विकास समितिमार्फत प्राविधिकलाई किसानको गोठगोठमा पुर्‍याएर भ्याक्सिन लगाउन निर्देशन दिइएको बताए । 

रोग नलागेका वस्तुलाई मात्र भ्याक्सिन लगाउन थालेका उनको भनाइ छ । उनले नगर क्षेत्रका साढे चार हजार गाई गोरुलाई पुग्नेगरी भ्याक्सिन खरिद गरिएको बताए । शनिबारदेखि नै वडा नम्बर १० बाट भ्याक्सिन लगाउन सुरु गरिएको उनले बताए । उनलै दुई दिनमा सात सय गाई गोरुलाई भ्याक्सिन लगाइसकेको बताए ।

दमक नगरपालिकामा लम्पी स्किन रोगबाट हाल तीन हजार बढी गाई, गोरु, राँगा, भैँसी बिरामी भएको उनले जानकारी दिए । उनले प्रति भ्याक्सिन दुई सय २९ रुपैयाँका दरले खरिद गरेर किसानलाई राहत पुर्याउने उद्देश्यले निःशुल्क दिएको बताए । यसअघि जिल्लाका विभिन्न पालिकाका किसानले आफैँ भ्याक्सिन खरिद गरेर पशुलाई लगाउँदै आएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार