पाल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ घाइते

मृतकमध्ये दुई महिला र एक पुरुष रहेको र उनीहरुको पहिचान खुल्न सकेको छैन् 
आइतबार, जेठ २१, २०८०

पाल्पा– पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।

पाल्पा को रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीस्थित केवरेडाँडामा आज साढे ५ बजेतिर जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँचीको पणेनातर्फ गइरहेको लु. १ च ९०२४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए । घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए ।        

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन् । यो समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन ।

दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्