श्रीमती सीताको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डले भारतको एक मन्दिरमा चढाए १०८ किलाे रुद्राक्ष र ५१ हजार 

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै भारतको एक मन्दिरमा १०८ किलो ग्राम रुद्राक्ष र ५१ हजार रुपैयाँ चढाएका छन् ।

मध्य प्रदेशको भ्रमणमा क्रममा प्रचण्डले उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा आज विशेष पूजा गरेका हुन् ।

उनले महाकाल बाबाको गर्भगृहमा श्रीमतीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ । सो क्रममा प्रचण्डले पहौलो वस्त्र धारण गरेका थिए । उनीसँगै छोरी गंगा दाहाल र अन्य मन्त्रीहरूले पनि पूजा गरेका थिए । 

विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल पनि उपस्थित थिए । मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०८ किलो रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।

पशुपतिनाथको मन्दिरमा कहिल्यै गएर दर्शन नगरेका प्रचण्डले भारतका मन्दिरमा भने पूजा गरेको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले आलोचना गरिरहेका छन् । 

प्रचण्डकी श्रीमती सीता गम्भीर रोगको शिकार बनेकी छिन् । भारतमा लगेर उपचार गर्दा पनि उनलाई ठीक भएको छैन । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्