युक्रेनको खाद्यान्न आयात प्रतिबन्ध लम्ब्याउन ईयू अधिकारीको आग्रह

बुधबार, जेठ १७, २०८०

ब्रसेल्स– युरोपेली सङ्घ (ईयू) का कृषि आयुक्तले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताएका छन् ।

युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर परिरहेको भन्दै पूर्वी युरोपेली सङ्घका देशहरूले गुनासो गरेपछि युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीच विवाद उत्पन्न भएको हो ।

ईयूले बुल्गेरिया, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्लोभाकियासँग युक्रेनबाट खाद्यान्न आयातमा रोक लगाउने सम्झौता गरेको थियो ।

युरोपेली कृषि आयुक्त जानुस्ज वोज्सीचोव्स्कीले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा भने, “हामीले न्यूनतम अक्टोबरको अन्त्यसम्म वा वर्षको अन्त्यसम्म प्रतिबन्ध लम्ब्याउन आवश्यक छ ।”

“युक्रेनमा भन्दा अन्य अग्रपङ्तीका देशहरूको भण्डारणमा अधिक खाद्यान्न छ र यही कारण यी देशहरूमा स्थिति सुधारको लागि यो अस्थायी आयात प्रतिबन्धलाई लम्ब्याउनुपर्छ,” उनले भने । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो युद्धग्रस्त देशमाथिको निर्यात प्रतिबन्धलाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै आलोचना गरिसकेका छन् । 

फ्रान्स र जर्मनीसहित १२ ईयू देशहरूले पनि प्रतिबन्धहरूको विरोध गरेका छन्, जसले ‘पारदर्शिताको कमी’बारे चिन्ता व्यक्त गरेका छन् र यसले युरोपको एकल बजारलाई कमजोर पार्ने खतरा रहेको चेतावनी दिएका छन् ।

वोज्सीचोव्स्कीले युरोपेली आयोगले अहिलेसम्म आफ्नो अडान नअपनाएको बताएका छन् । यद्यपि, बाँकी सदस्य राष्ट्रहरूलाई यो केवल न्यायोचित छ भनेर विश्वस्त पार्न सफल भएको उनको भनाइ छ ।

गतवर्ष शुरू भएको रूसको आक्रमणले काला सागर हुँदै युक्रेनी अन्नको परम्परागत निर्यात मार्गलाई नराम्ररी सीमित गरेको थियो, जसका कारण युक्रेनका छिमेकीहरूमार्फत जमिनको बाटो निर्यात गर्न आवश्यक थियो ।

सदस्य राष्ट्रहरू मात्रात्मक प्रतिबन्ध बिना, र भन्सार र आधिकारिक निरीक्षण बिना युक्रेनबाट निश्चित उत्पादनहरूको आयातलाई अनुमति दिन सहमत भएका छन् । तर युरोपेली सङ्घका केही मुलुकका किसानले मूल्यमा आएको गिरावटपछि युक्रेनको खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्