बालेनको कदमलाई स्वास्थ्य मन्त्रालयले दियो साथ

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शैया छुट्याउनु पर्ने व्यवस्था नमान्ने अस्पताललाई कारबाही गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको चेतावनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साथ दिएको छ ।

बालेन अस्पतालहरूलाई सात दिने अल्टिमेटम दिएलगत्तै स्वास्थ्य मन्त्रालयले समेत उनको कदमलाई साथ दिएको हो ।

बुधबार यही विषयमा पुन ताकेता परिपत्र जारी गर्दै स्वास्थ्य मन्त्रालयले बालेनको कदममा साथ दिएको हो । सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूका नाममा प्रेषित परिपत्रमा स्वास्थ्य संस्था संचालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा भएको व्यवस्था पूर्णरुपमा लागु गर्न भनिएको छ ।

‘अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय बेवारिसे बिरामीको लागि निःशुल्क शैयाको १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउन पर्ने तथा मापदण्डको दफा ७२ मा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्र भागमा देखिने गरी राख्नु पर्नेछ’, पत्रमा भनिएको छ ।


 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्