मुग्लिनमा बस दुर्घटना : ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

मंगलबार, जेठ १६, २०८०

मुग्लिन– पृथ्वी राजमार्गअन्तर्गत  चितवनको  इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा  ३२ जना घाइते भएका  छन् । 

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको  बस  आज  दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा  ठोक्किएर  पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन  भएको छ । 

सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्