सफा हिमाल अभियान

सफा हिमाल अभियान : ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

अभियानका क्रममा दुई शेर्पा सहयोगीको भने निधन भएको छ
बिहीबार, जेठ ११, २०८०

काठमाडौँ– नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको थियो । 

हालसम्म अन्नपूर्ण हिमालबाट तीन हजार पाँच सय ६७ किलो, बरुञ्चे हिमालबाट १८ हजार पाँच सय २० किलो र सगरमाथा तथा ल्होत्सेबाट १३ हजार छ सय २१ किलो गरी जम्मा ३५ हजार सात सय आठ किलो फोहर सङ्कलन भइसकेको निर्देशनालयले जानकारी दिएको छ । 

सगरमाथा र ल्होत्से हिमाल सफाईका लागि सगरमाथाको आधार शिविरमा तैनाथ नेपाली सेनाको टोली सफाइ कार्य सम्पन्न गरी फिर्ता हुने क्रममा रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ । विश्व वातावरण दिवसमा काठमाडौँमा औपचारिक कार्यक्रमको आयोजना गरेर अभियानको समापन गरिनेछ । 

सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ तथा आरोहणका सिलसिलामा अस्वस्थ भई उपचाररत नेपाली सेनाका चार जनालाई थप उपचारको लागि भारत लगिएको छ । अभियानका क्रममा दुई शेर्पा सहयोगीको भने निधन भएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्