लखनऊलाई हराउँदै सर्वाधिक ५ पटकको विजेता मुम्बई दोस्रो क्वालिफायरमा 

बिहीबार, जेठ ११, २०८०

काठमाडौँ– लखनऊ सुपर जायन्ट्सलाई हराउँदै सर्वाधिक ५ पटकको विजेता मुम्बई इन्डियन्स भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । 

चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट रंगशालामा भएको इलिमिनेटर खेलमा मुम्बई ८१ रनले विजयी भएको हो । 

मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनऊले १६.३ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनायो । 

लखनऊका लागि मार्कस स्टोयनिसले सर्वाधिक ४० रन बनाए । 

मुम्बईका लागि आकाश मधवालले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पियुष चावलाले समान १-१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरन ग्रिनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए । 

यस्तै, सूर्यकुमार यादवले ३३, तिलक बर्माले २६ तथा नेहल वाडेराले २३ रन बनाए ।

लखनऊका नवीन उल हकले ४ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् ।

इलिमिनेटर खेलमा लखनऊलाई पराजित गरेसँगै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । पराजित लखनऊ भने प्र्रतियोगिताबाट बाहिरिएको छ ।

मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग शुक्रबार खेल्ने छ । 

दोस्रो क्वालिफायर खेल शुक्रबार हुँदैछ । गुजरात पहिलो क्वालिफायर खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो । 

दोस्रो क्वालिफायरको विजेता फाइनलमा स्थान बनाउनेछ । पहिलो क्वालिफायरको विजेता चेन्नाईले फाइनलमा स्थान पक्का गरिसकेको छ । 

फाइनल खेल अहमदाबादमा आगामी आइतबार हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्