तामाङ होमस्टे गाउँ भुष्मेमा पर्यटन प्रवर्द्धन गर्न आमा समूह र युवा क्लब जुटे

भुष्मेलाई जुवातासमुक्त गाउँ बनाइने
बुधबार, जेठ १०, २०८०

लमजुङ– मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेको पर्यटन प्रवर्द्धनमा आमा समूह र युवा क्लव एकजुट भएका छन् ।

२०७३ सालमा १० घरबाट होमस्टे सुरु भएको भुष्मेमा पर्यटक आगमन बढाउन उनीहरूले गाउँ सरसफाइदेखि जुवातासमुक्त गाउँ बनाउने निर्णय गरेका छन् ।  आमा समूह र युवा क्लवले गाउँमा पर्यटन प्रवर्द्धन गर्न आमा र युवा सँगसँगै अघि बढ्ने निर्णय गरेको गाउँका अगुवा होमराज तामाङले बताए ।

तामाङ भाषा, कला र संस्कृतिले धनी मानिएको भुष्मेमा ५५ घर छन् । गाउँलेले व्यावसायिक रुपमा तरकारी खेती समेत गर्दै आएका छन् । गाउँमा फलाएको अग्र्यानिक उपभोग्य खानालाई परिकार बनाएर गाउँमै खुवाउन स्थानीयले होमस्टे सञ्चालन गरेका हुन् । होमस्टेलाई थप व्यवस्थित बनाउन गाउँको प्रचारप्रसार गर्ने, आमा समूह र युवा समूह एकजुट हुने, गाउँ सरसफाइ गर्ने, गाउँलाई जुवातासमुक्त बनाउने निर्णय गरेको तामाङले बताए ।

मर्स्याङ्दी गाउँपालिका– ८ का वडाअध्यक्ष स्थानीय धनसिंह तामाङको विषेश उपस्थितिमा आमा समूह र युवा क्लब पुनर्गठनसमेत गरिएको छ । 

भुष्मेमा आमा समूह र युवा क्लव गठन गरेको करिब ३ दशक पुग्नै लागेको छ । गाउँको विकासमा एकजुट भएसँगै स्थानीयले गाउँमा सामुहिक तथा व्यक्तिगतरुपमा व्यावसायिक खेती गर्दै आएका छन् । पछिल्लो समय होमस्टेसमेत सञ्चालनमा ल्याएको यो गाउँ तामाङ होमस्टे गाउँले चर्चित छ । समुद्री सतहदेखि १ हजार ५ सय मिटर उचाईको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ४५ मिनेटदेखि १ घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ । बेंसीसहरबाट खुदीहुँदै भुलभुलेसम्मको ७ किलोमिटर र भुलभुलेबाट ७ किलोमिटर उकालो चढेपछि भुष्मे पुग्न सकिन्छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्