नक्कली भुटानी शरणार्थी प्रकरण : यी हुन् संलग्नता पुष्टि भएका ३३ आरोपी

मंगलबार, जेठ ९, २०८०

काठमाडौँ— नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जना संग्लग्न भएको नेपाल प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

यस प्रकरणमा संग्लग्नविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको नेपाल प्रहरीले यो मुद्दामा साढे २७ करोड बराबरको बिगो कायम हुने निष्कर्षसमेत निकालेको छ ।

११३ जनाले दिएको २३ वटा जाहेरीका आधारमा यो रकम बराबरको बिगो कायम हुने प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यो प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आइतबारमात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । संलग्नको आरोप लागेका केही भने फरार छन् । 

यस प्रकरणमा आरोप पुष्टि भएकामध्ये १६ जना पक्राउ परिसकेका छन् ।

जसमा एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, शरशेर मियाँ, टेकनाथ रिजाल, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी छन् ।

रिजाल शरणार्थीको हकहितमा लड्दै आएका नेता हुन् ।  

सन्दीप टोपबहादुरका छोरा हुन् भने इन्द्रजित राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार हुन् ।  

यस्तै, फरारको सूचीमा १४ जनाको नाम छ । जसमा प्रतीक थापा, नीरज राई, केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशिष बुढाथोकी छन् । 

प्रतीक पूर्वगृहमन्त्री बादलका छोरा हुन् भने नीरज इन्द्रजितका छोरा हुन् ।  

यसैगरी ३ जनालाई ठेगाना नखुलेका फरारमा राखिएको छ । जसमा बेचन झा, गोकुल थापा र रमा थापा छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्