जुम्लामा धान खेती घट्दै 

सोमबार, जेठ ८, २०८०

जुम्ला– यहाँको पातारासी–३ स्थित छुमचौर जिउलोमा काली मार्सी धानको खेती घट्दै गएको छ । काली मार्सी धान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु सिमी, मकै, कोदो, चिनो, कागुनोको खेती गर्न थालेका छन् । बर्सेनि खेत बाँझो हुँदै जाँदा किसान मार्सी धानको खेती छोड्न थालेको पातारासी–३ का स्थानीयवासी ललिता बुढाले बताए । 

काली मार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् । मार्सी धानको खेती गर्दा रोग किरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेको यहाँका किसान बताउँछन् । यहाँ धानको उत्पादन कम हुन थालेपछि धानको याममा अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्दछ ।

 एक महिना यार्सा सङ्कलन गर्दा तीन गुण बढी आम्दानी हुने भएपछि उनीहरू पाटन जाने गरेका स्थानीयको भनाइ छ । यार्साबापत एक परिवारले एक महिनामा न्यूनतम रु ५० हजारदेखि एक लाखसम्म कमाउँ थालेपछि यहाँका स्थानीयवासीको रोजाइमा मार्सी धानभन्दा यार्सा सङ्कलनमा जाने गरेको पातारसी गाउँपालिकाको कृषि शाखाले जनाएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा दुई सय आठ सय हेक्टरमा धान खेती हुने गरेको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्