मण्डलामा शेक्सपियरको ‘म्याकबेथ म्यासाकर’ मञ्चन

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– मण्डला नाटकघरमा विलियम शेक्सपियरको ‘म्याकबेथ’ माथि बनेको नाटक ‘म्याकबेथ म्यासाकर’ ओपरा सङ्गीतसहित मञ्चन भइरहेको छ ।

वान वर्ल्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गर्नुभएको नाटक दुई घण्टा ४५ मिनेटको रहेको छ ।

“नाटकको भावनालाई सङ्गीतले उठाइदिएको थियो । त्यसैले हामीले सङ्गीत राख्ने योजनासहित अमेरिकाबाट ओपेराकै सङ्गीतकर्मीहरुलाई बोलायौँ”, निर्देशक मेरोलाले भने ।

अङ्ग्रेजी भाषाको नाटकमा विदेशीसँगै नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । यसमा राजकुमार पुडासैनी, सजक राणा, शिशिर सिवाकोटी, पशुपति राई, सरोज अर्याल, सन अधिकारी, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

नाटकमा कलाकार पुडासैनी म्याकबेथ र कलाकार एन्डी डेभिस म्याकबेथ पत्नीका रुपमा प्रस्तुत भएका छन् । नाटककी कलाकार राईले नाटकसँग नेपाली दर्शक जोडिने बताए । उनले भने, “नाटकमा सत्ताका लागि गरिने खिचातानी र त्यसले मानिसमा पार्ने प्रभाव देखाइएको छ । सामाजिक र राजनैतिक घटनाक्रम नेपाली समाजसँग पनि मिल्दो रहेको छ ।” 

जेठ ५ बाट सुरु भएको यो नाटक जेठ १४ गतेसम्म मात्र मञ्चन हुनेछ । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार