शिक्षण विधि निरीक्षण गर्न सामुदायिक विद्यालय पुगे बालेन

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले सामुदायिक विद्यालयमा सञ्चालन गरिएको शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सीप कार्यक्रमको निरीक्षण गरेका छन् ।  

सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन प्रमुख बालेनले सामुदायिक विद्यालयको निरीक्षण गरेका हुन् । सोही अवसरमा उनी शुक्रबार शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार पुगे । उनले गत हप्ता दरबार हाइ स्कूलको अवलोकन गरेका थिए । 

बालेनले प्रमुखमा निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । उनले पछिल्लो समय हरेक शुक्रबार विद्यालयमा विद्यार्थीसँगै बस्ने र सँगै बसेर सिक्ने गरेका छन् । 

अवलोकनका विषयमा प्रमुख बालेन भन्छन्, ‘हिजो शुक्रबार बिहान काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो, शिक्षामा सीप कार्यक्रममार्फत विद्यार्थीसँगै बसेर सिक्न मौका पाएँ, साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकको सहभागिताका बारेमा बुझ्न पाएँ, निरीक्षण अनुगमनका क्रममा शिक्षामा सीप कार्यक्रमले विद्यार्थीको भविष्य निर्माणका लागि पार्ने प्रभावका बारेमा बुझ्ने मौका पाएँ, विद्यालयको वर्तमान अवस्था, समग्र विकासका लागि आवश्यकपर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा जानकारी लिएको छु ।’ 

शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेक्ट्रोनिक्स गरी दुई कक्षा सञ्चालनमा छन् । डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत स्केचिङ र मूर्तिकला, फेसन र कपडा निर्माण जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत विद्यार्थी पत्रपत्रिका पठन, भाषण तथा कविता वाचन कला, खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशाला जस्ता विधा र क्षेत्रमा सहभागी छन् । 

कामपाले गत वैशाख १२ गतेदेखि बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यो कार्यक्रम कामपामा रहेका सबै सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको छ । कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।  -रासस
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्