खाँणले शेर्पालाई फिर्ता गरेको १ करोड बिचौलियाले नपाएपछि...

शनिबार, जेठ ६, २०८०

काठमाडौँ–  नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने काममा ‘सहयोग गर्न’ कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले बिचौलियाबाट बुझेको एक करोड फिर्ता दिएको प्रमाण प्रहरीले फेला पारेको छ । पूर्वसांसद आङटावा शेर्पामार्फत उनले सो रकम फिर्ता दिएका थिए । तर, शेर्पाले ३० लाख मात्रै फिर्ता गरेर ७० लाख आफैँ राखेको अनुसन्धानबाट खुलेको छ ।

रामेछापका कांग्रेस नेता शेर्पाले चैतको तेस्रो साता अहिले हिरासतमा रहेका बिचौलिया सानु भण्डारीका दाइ राजु भण्डारीलाई ३० लाख फिर्ता गरेका थिए । त्यसको व्यक्तिगत भर्पाई नै प्रहरीले बरामद गरेको छ । राजुले पनि त्यसलाई प्रमाणित गरिदिएको स्रोत बताउँछ । ‘पक्राउ परेका बिचौलियाले आफ्नो नाम पोलेपछि उनीहरूलाई फकाउन खाँणले शेर्पालाई खटाएको पुष्टि भएको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘पैसा फिर्ता नै गरेको प्रमाणित भएपछि उहाँविरुद्ध थप बलियो प्रमाण भएको छ, बढी बाठो हुँदा यो मुद्दामा उहाँ झन् फस्नुभयो ।’

शेर्पाले खाँणका पिए नरेन्द्र केसीमार्फत एक करोड लिएका थिए । आफूले पनि पैसा उठाएर खाँणलाई बुझाएको र त्यो पैसा पीडितलाई फिर्ता गर्न भन्दै उनले ७० लाख आफूले नै राखेको उनले प्रहरी सोधपुछमा बताएका छन् । तर, सरकारी वकिल कार्यालयमा गरेको लिखित बयानमा भने लेनदेनका कुरालाई उनले अस्वीकार गरेका छन् ।

गत १२ चैतमा प्रहरीले सानु भण्डारी, केशव दुलाल र टंक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । सर्वसाधारणबाट उठाएको पैसा उच्चपदस्थलाई बुझाएको भन्दै उनीहरूले फिर्ता गर्न नसक्ने प्रहरी सोधपुछमा बताएका थिए । आफ्नोसमेत संलग्नता खुल्ने संकेत पाएपछि खाँणले पैसा फिर्ता गरेर चुप लगाउने रणनीति बनाए ।

त्यसका लागि उनले गत १८ चैतमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका बिचौलिया सानु भण्डारीलाई भेट्न शेर्पालाई पठाएका थिए । त्यही छलफलपछि शेर्पाले सानुका दाइ राजुलाई पैसा फिर्ता गरेका हन् । तर, बयानका क्रममा सानुले जोगाएन्, पैसा फिर्ता गरेको पोलसमेत खोलिदिएपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् ।

हाल खाँणसहित शेर्पा र नरेन्द्र केसी पनि प्रहरी हिरासतमै छन् । खाँणकै कार्यकालमा गृह मन्त्रालयमा भुटानी शरणार्थीसम्बन्धी प्रतिवेदन किर्ते गरेर आठ सय ७५ जनाको नाम थपिएको पुष्टि भइसकेको छ । साथै, बिचौलियाकै स्वार्थअनुसार उनले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन कार्यान्वयनमा लैजानेदेखि विभिन्न समिति गठन गरी गैरशरणार्थीलाई शरणार्थीको सूचीमा पार्ने प्रयास गरेका थिए । त्यसका लागि उनले एक करोड २४ लाख लिएको बिचौलियाहरूको बयान छ ।

पैसा लिएर काम पनि नगरिदिएको र उल्टै थुनामा परेपछि बिचौलियाले नै यो प्रकरण बाहिर ल्याएका हुन् । प्रहरीमा उजुरी परेपछि केही व्यक्तिले पहिले नै पैसा फिर्ता गरेर सहमति गरिसकेका थिए । करिब एक अर्बको ठगी भएको बताइ पनि प्रहरीमा करिब २३ करोड ठगीको मात्र उजुरी परेको छ ।

पूर्वसांसद शेर्पाले त कार्यालय नै खोलेर सर्वसाधारणलाई फाराम फराई पैसा उठाएका थिए । तर, केहीको रकम फिर्ता गरिसकेकाले उनका पीडितहरू प्रहरीमा पुगेका छैनन् । मतियारका रूपमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शंकित थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरी पूरक अभियोग लैजाने तयारी प्रहरीको छ । करिब एक दर्जन व्यक्तिलाई फरार अभियुक्तका रूपमा मुद्दा दायर हुने सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृह मन्त्रालयका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्चपदस्थलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले बताए । (सो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।)
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्