पाकिस्तानमा २ करोड २८ लाख बढी बालबालिका विद्यालयको पहुँचबाहिर

बिहीबार, जेठ ४, २०८०

इस्लामावाद– पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका अनुमानित दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ । 

पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको समस्या समाधान गर्न र विद्यालय जाने उमेरसमूहका बालबालिकालाई बढीभन्दा बढी भर्ना गर्न विशेष कार्यक्रम ल्याएको छ । 

पाकिस्तानले वर्षौंदेखि आफ्नो विद्यालय उमेरको जनसङ्ख्यालाई शिक्षामा पहुँच प्रदान गर्न उल्लेखनीय प्रगति गरेको छ, तर सुधारको गति अन्य विकासशील देशहरूको तुलनामा सुस्त रहेको छ, संघीय र प्रान्तीय सरकारहरूले यस मुद्दालाई सम्बोधन गर्न राष्ट्रिय कार्य योजना विकास गर्ने निर्णय गरेको छ । 

विद्यालय बाहिर रहेका बालबालिका कोही पनि नहोस् भनेर राजधानीमा ‘युनिभर्सल इनरोलमेन्ट पाइलट प्रोजेक्ट’ सुरु गरिने र देशभरका अन्य क्षेत्रमा पनि यस्तै नतिजा ल्याउन यो परियोजनालाई दोहो¥याउन सकिने मन्त्रालयले जनाएको छ । 

साथै, अति प्रभावित जिल्लाहरूमा शिक्षाको नतिजा सुधार गर्न प्रदेश सरकारहरूलाई कार्यसम्पादनमा आधारित नगद अनुदान प्रदान गर्न राष्ट्रिय विद्यालय बाहिरको बालबालिका कोषको स्थापना गरिनेछ । यसबाहेक, विदालयमा भर्ना भएर पनि विद्यालय नजाने दर कम गर्न, सरकारले एक व्यापक अनलाइन शैक्षिक प्रणाली सुरू गर्नेछ । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्