नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ [भिडियो]

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

शरणार्थी प्रकरण अनुसन्धानका क्रममा नेता रिजाललाई बिहीबार झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीको पोलका आधारमा नेता रिजाललाई  झापाबाट पक्राउ गरी आजै काठमाडौँ ल्याइएको हो ।

प्रहरीका अनुसार शरणार्थी प्रकरणमा पक्राउ परेका  भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेको आधारमा थप अनुसन्धानको लागि पक्राउ गरेको हाे ।

पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न  रिजालले माग गर्दै आएका छन् । ३० जेठ २०७६ मा रिजालकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्