बाहिरिए नक्कली भुटानी शरणार्थी प्रकरणका ३ भिडियो क्लिप

बुधबार, जेठ ३, २०८०

काठमाडौँ– आङटावा शेर्पाले नक्कली भुटानी शरणार्थी बनाउन कागजपत्र तयार गर्दाको सन्दर्भका तीन भिडियो क्लिप पीडितहरूले उपलब्ध गराएका छन् ।

पहिलो भिडियो क्लिपमा आङटावा आफैँ देखिन्छन् भने उनको सामुन्ने केही युवा छन् । पीडितका अनुसार युवाहरू नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरू हुन् ।

उक्त भिडियो ललितपुरकै बखुन्डोलस्थित बिगमार्टसँगै रहेको टिड्लट्स रेस्टुरेन्टमा जम्मा हुँदाको हो । पीडितका अनुसार भिडियो ३ मे २०२२ मा खिचिएको हो ।

त्यस्तै, आङटावाले सानेपामा खोलेको दोस्रो लटको कार्यालयमा नेपाली युवाहरू जम्मा भएको अर्को भिडियो छ, जहाँ शेर्पा भने देखिएका छैनन् । उक्त भिडियो आँखाको रेटिनाको फोटो र फिंगर प्रिन्ट लिन लाइनमा बस्दाको समयको भएको पीडितले बताए ।

युवाहरू बसेकोभन्दा अर्को कोठामा रेटिनाको फोटो र फिंगर प्रिन्ट लिने गरिन्थ्यो, जहाँ क्यामेरा लैजान बन्देज गरिएको थियो । शरीर खनतलासी गर्न सोही कोठाबाहिर सूक्ष्म ढंगले खानतलासी गरिन्थ्यो ।

त्यस्तै, तेस्रो भिडियो पनि सार्वजनिक भएको छ, जहाँ आङटावा र पीडितबीच विवाद भएको देखिन्छ । भिडियोमा आङटावा युवाबाट घेरिएका छन् । रकम फिर्ताका लागि युवाले उनलाई दबाब दिइरहेका छन् । शेर्पा भने सम्झाउने प्रयास गरिरहेका देखिन्छन् । उनीसँगै मिलन गौतम नामका अर्का युवा पनि देखिन्छन् । पीडितका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकारमध्ये मिलन पनि एक हुन् । उनकै नेतृत्वमा रामेछाप, दोलखा र सिन्धुपाल्चोकबाट युवा भेला गरिएका थिए । भिडियोमा उनी पनि युवालाई आश्वासन दिइरहेका देखिन्छन् । घटना सर्वजनिकपछि मिलन अहिले फरार छन् । (यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार