नक्कली भुटानी शरणार्थी प्रकरण

कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

सोमबार, जेठ १, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि पूर्वसांसद शेर्पाले आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

शरणार्थी प्रकरणमामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै उनी आफैँ परिसरमा उपस्थित भएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले वयानका क्रममा संलग्नता रहेको बताएपछि उनीविरुद्ध प्रहरीले पनि निगरानी बढाएको थियो । अनुसन्धानको क्रममा गत आइतबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

हालसम्म  शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार