गोठ–गोठमा पुगे पशु चिकित्सक र प्राविधिक

आइतबार, वैशाख ३१, २०८०

मुग्लिन– लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामना गाउँपालिकामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका  छन् । 

रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनका  अनुसार यस रोगबारे किसानलाई आवश्यक परामर्शसमेत दिँदै आएका  छन् ।  

गाउँपालिका पशु सेवा शाखाका प्रमुख रञ्जित विकका अनुसार लम्पी स्किन रोगबाट गाउँपालिकाभर हालसम्म २३ वटा गाईगोरु मरेका छन् । वडा नं १ मा सबैभन्दा धेरै गाईगोरु मरेका छन् । वडा नं १ मा  मात्र ११ वटा गाईगोरु मरेका छन् । वडा नं २  मा १० र वडा नं ७ मा  दुईवटा मरेका छन्  । उनका अनुसार गाउँपालिकाको सातवटै वडामा फैलिएको यस रोगबाट पाँच सयभन्दा बढी गाईगोरु  बिरामी परेका  छन् ।

प्रमुख विकका अनुसार किसानबाट जानकारी पाउनासाथ पशु चिकित्सक डा सुनिल ज्ञवालीसहितको प्राविधिक टोलीहरु किसानको गोठ–गोठमा पुगेर आवश्यक उपचार र परामर्श दिन सुरु गरेका थिए । प्रत्येक वडामा प्राविधिक खटाई हरेक दिन उपचार र विवरण सङ्कलन  गर्ने कार्य भइरहेको उनले बताए ।

इच्छाकामनामा भौगोलिक विकटता, जनचेतनाको अभाव सञ्चारमाध्यमको पहुँच नभएकाले नियन्त्रणमा केही समस्या आए पनि हाल निरन्तर पशु चिकित्सक र प्राविधिकहरु खटाई उपचार र जनचेतनामूलक कार्यक्रमहरु गरिरहेकाले नियन्त्रण उन्मुख अवस्थामा पुगेको पशु सेवा शाखाका प्रमुख विकले बताए ।  

यस रोगको ठोस उपचार नभएकाले सङ्क्रमित गाईभैँसीलाई मृत्युबाट बचाउन  लक्षणमा आधारित उपचार गर्ने र सङ्क्रमण फैलन नदिनका लागि गाईभैँसीको ओसारपसार र गोठको सरसफाइ नै मुख्य उपाय रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्