एमालेले २०८४ को निर्वाचन लक्षित कार्ययोजना बनाउने

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं–नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ ।

पार्टीको जारी केन्द्रीय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरुसहितको ८ वटा समूहले अहिले सो वार्षिक कार्ययोजनाका लागि सुझाव दिएका छन् । सोही सुझावको आधारमा शनिबार बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रिय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताए ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गरे । सोही मार्गदर्शनमा आधारित भएर सबै समूहहरुले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिनेछन् ।

उपप्रमुख रिजालले भने, ‘हामीले ८ वटा समूहमा बिभाजन गरेर, ती रिर्पोटहरुमाथि आधारित भएर आ–आफ्नो प्रदेशका के कस्ता कार्ययोजनाहरु हुन सक्छन? वार्षिक कार्ययोजनाका बारेमा राय, सल्लाह, सुझाव प्रस्तुत गर्नका लागि हामीले ७ वटा प्रदेशका ७ वटा टोली र सम्पर्क समन्वय कमिटी र पेशागत विशेष कमिटीलाई एउटा टोली बनाएर ८ वटा समूह निर्माण गरेका छौं । त्यसमा उहाँहरुले घनिभूत ढंगले छलफल गरिरहनु भएको छ । साथै हाम्रो पार्टीको केन्द्रको तर्फबाट महासचिव कमरेड शंकर पोखरेलले आगामी कार्ययोजनाका सन्दर्भमा केही मोटामोटी मार्गदर्शनहरु प्रस्तुत गर्नु भएको छ । केही प्रश्नहरु केन्द्रिय सदस्यहरुलाई सोध्नु भएको छ । ती प्रश्नहरुमा समेत आधारित भएर आ–आफ्नो प्रदेशका विशेषताका आधारमा पार्टीका योजना निर्माणका लागि प्रत्येक प्रदेशबाट सुझावहरु प्राप्त हुनेछन् । र, ती सबै सुझावहरुलाई ध्यानमा राखेर ८ वटै टोलीका तर्फबाट सुझावहरु प्रस्तुत भएपछि ती सुझावहरुलाई ध्यानमा राखेर शनिबार हाम्रो पार्टीको स्थायी कमिटी बैठक बस्नेछ । त्यसमा प्राप्त सुझावहरुलाई समेत विश्लेषण गर्दै पार्टीको केन्द्रिय नेतृत्वले सोचेका योजनाहरुमा समेत तिनलाई समायोजन गर्दै पार्टीको वार्षिक कार्ययोजना प्रस्ताव तयार गर्नेछ । र, भोली बस्ने केन्द्रिय कमिटी बैठकमा २०८० जेठदेखि २०८० चैत्रसम्म नेकपा एमालेले देशभरी के, कस्ता कार्यक्रम गर्छ, प्रवास तथा जनसंगठनहरुमा समेत के कस्ता कार्यक्रमहरु गर्छ? हामीले त्यसको खाका तयार गर्नेछौं । त्यसलाई केन्द्रिय कमिटीबाट पारित गरेर एउटै लय, एउटै ताल र एउटै बुझाईका साथ नेकपा एमालेको सिंगो केन्द्रिय कमिटी परिचालित हुनेछ । र, नेकपा एमालेलाई जनताको रोजाईको पहिलो शक्तिबाट समग्रमा पहिलो शक्तिको रुपमा रुपान्तरण गर्नेगरी २०८४ को निर्वाचनलाई केन्द्रविन्दुमा राखेर हाम्रो पार्टी पंक्तिको परिचालनलाई हामीले विशेष जोड दिनेछौं । त्यसमा हाम्रो पार्टीको यो बैठक केन्द्रित भएको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्