आगलागीमा १२ जना कामदार घाइते

बुधबार, वैशाख २७, २०८०

दैलेख– दैलेखमा आगलागीमा परेर १२ जना कामदार घाइते भएका छन् । आठबीस नगरपालिका–६ को माल्ले सामुदायिक वनमा लागेको आगोमा परेर १२ जना घाइते भएका हुन् । 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको स्थानीय बलबहादुर थापाले बताए । घाइतेहरू प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माणमा खटिएका कामदार हुन् ।

आगलागीमा परेका १२ जना प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माणमा गएका थिए । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गोरेटो बाटो निर्माणमा खटिएका भैरव विकको अवस्था चिन्ताजनक छ । उनको शरीर जलेको प्रहरीले जनाएको छ । अन्य तीन जना पनि गम्भीर घाइते छन् । गम्भीर घाइते हुनेहरूमा नैना विक, बसुन्धरा विक र प्रकाश विक रहेको प्रहरीले जानकारी दिएको छ । अन्य ८ जना सामान्य घाइते छन् ।  

घाइतेहरूको उद्धार गरी आठबीस नगरपालिका–४ स्थित राकमकर्णाली आधारभूत अस्पतालमा उपचार भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्