नाबालिग बलात्कार आरोपीलाई १८ वर्ष कैद

बुधबार, वैशाख २७, २०८०

सप्तरी– जिल्लामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । आरोपितले रु सात लाख जरिवाना तिर्नुपर्ने र रु एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

आरोपितले २०७९ मङ्सिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताउनुभएको छ । 

आरोपित २०७९ मङ्सिर २० गते पक्राउ परेका थिए । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । -रासस
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:२९
प्रतिक्रिया दिनुहोस्