भारतमा कोरोना फैलियो, नेपालगञ्ज नाकामा सतर्कता

सोमबार, वैशाख २५, २०८०

जानकी– नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक जसो कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ । भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा परीक्षण गरी सङ्क्रमण पष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ । 

सुरुमा कोरोना माहामारी फैलिदा नेपालगञ्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो । हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन् । गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
    
नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधि समेत दिइन्छ । तर नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ । 

कोरोना महामारी सुरु भएपछि हालसम्म नाकामा एक लाख १५ हजार वटा नमूना परीक्षण भइसकेको छ । ‘सबैले परीक्षण गर्न मान्दैनन्, नाका हुँदै नेपाल भित्रिने सबैलाई अनुगमन गर्ने अवस्था पनि छैन,’ हेल्थ डेस्कका प्रमुख गिता गिरी शाहीले भने । उनका अनुसार भारतका पञ्जाव, दिल्ली, लखनउबाट आउने यात्रुमा बढी कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै कोरोना सङ्क्रमण पुष्टि भएकाहरुमा कुन भेरियन्ट हो भन्ने पत्ता नलागेको बताए । कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा स्थानीय तहको रोहबरमा होम आइसोलेसनमा व्यवस्थापन गरिरहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्